बालप्रतिभाको प्रवर्धनका लागि विगत १५ वर्षदेखि काम गरिरहेको केटाकेटी मिडियाबाट प्रकाशित प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केको दोस्रो कृति ‘भक्तपुर घुम्दाको मज्जा’ (यात्रा संस्मरण) कृतिको विमोचन सम्पन्न भयो । वरिष्ठ साहित्यकार एंव संस्कृतिविद् सत्यमोहन जोशीले लेखक मास्केको कृति विमोचन गर्नुभयो । विलक्षण प्रतिभावान् बालक सुशान्तले कक्षा ६ मा पढ्दा यो कृति लेखेका हुन् । उनी अहिले नोवेल एकेडेमीमा कक्षा ७ मा पढ्छन् । उनले ११ वर्षको उमेरमा पहिलो कृति लेखेका थिए । उनी रेडियो नेपालका बालसमाचारवाचक पनि हुन् । उनको यो कृतिमा भक्तपुर दरवार क्षेत्रमा रहेका सम्पदाहरुको परिचय फोटोसहित अंग्रेजी र नेपाली दुवै भाषामा रोचक ढंगले दिइएको छ । यो पुस्तक केटाकेटी मिडियाले प्रकाशन गरेको हो ।
नोवेल एकेडेमीका प्रधानाध्यापक डा. जयराज आचार्यको सभापतित्वमा भएको यस कार्यक्रममा केटाकेटी मिडियाका अध्यक्ष कार्तिकेय घिमिरे र महेश पौड्यालले विमोचित पुस्तकको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार गोपाल पराजुली, गोविन्द घिमिरे, धु्रव मधिकर्मी, बालप्रतिभाहरु रविना घिमिरे र सुमिक्षा खड्कालगायतले रचना सुनाउँनुका साथै विमोचित कृतिको वारेमा विचार व्यक्त गर्नुभएको थियो । लेखक सुशान्त मातापिता जयन्ती र सुरेशमान मास्केको एक मात्र छोरा हुन् ।