Monday, April 9, 2012

‘भक्तपुर घुम्दाको मज्जा’ को विमोचन


बालप्रतिभाको प्रवर्धनका लागि विगत १५ वर्षदेखि काम गरिरहेको केटाकेटी मिडियाबाट प्रकाशित प्रतिभाशाली बालक सुशान्तमान सिंह मास्केको दोस्रो कृति भक्तपुर घुम्दाको मज्जा’ (यात्रा संस्मरण) कृतिको विमोचन सम्पन्न भयो । वरिष्ठ साहित्यकार एंव संस्कृतिविद् सत्यमोहन जोशीले लेखक मास्केको कृति विमोचन गर्नुभयो । विलक्षण प्रतिभावान् बालक सुशान्तले कक्षा ६ मा पढ्दा यो कृति लेखेका हुन् । उनी अहिले नोवेल एकेडेमीमा कक्षा ७ मा पढ्छन् । उनले ११ वर्षको उमेरमा पहिलो कृति लेखेका थिए । उनी रेडियो नेपालका बालसमाचारवाचक पनि हुन् । उनको यो कृतिमा भक्तपुर दरवार क्षेत्रमा रहेका सम्पदाहरुको परिचय फोटोसहित अंग्रेजी र नेपाली दुवै भाषामा रोचक ढंगले दिइएको छ । यो पुस्तक केटाकेटी मिडियाले प्रकाशन गरेको हो ।
नोवेल एकेडेमीका प्रधानाध्यापक डा. जयराज आचार्यको सभापतित्वमा भएको यस कार्यक्रममा केटाकेटी मिडियाका अध्यक्ष कार्तिकेय घिमिरे र महेश पौड्यालले विमोचित पुस्तकको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार गोपाल पराजुली, गोविन्द घिमिरे, धु्रव मधिकर्मी, बालप्रतिभाहरु रविना घिमिरे र सुमिक्षा खड्कालगायतले रचना सुनाउँनुका साथै विमोचित कृतिको वारेमा विचार व्यक्त गर्नुभएको थियो । लेखक सुशान्त मातापिता जयन्ती र सुरेशमान मास्केको एक मात्र छोरा हुन् ।