Wednesday, August 29, 2012

केटाकेटीका समाचारहरु, २०६९ भाद्र अंकबाट

बन्दीपुरका बालप्रतिभा पुरस्कृत
वरिष्ठ कवि द्घारिका श्रेष्ठ र वरिष्ठ कथाकार, उपन्यासकार एवं बालसाहित्य लेखक जलेश्वरी श्रेष्ठले स्थापना गर्नुभएको बालसाहित्य पुरस्कार २०६९ बाट बन्दिपुरका चारजना बालप्रतिभाहरू पुरस्कृत भएका छन् ।
पुरस्कार वितरणका लागि बन्दिपुर विकास समितिद्घारा आयोजित स्थलगत कविता प्रतियोगितामा पुरस्कृत भई यी बालप्रतिभाले यो पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्घितीय, तृतीय र सान्त्वना पुरस्कारबाट क्रमशः सदीक्षा भण्डारी, सोनिया सुनार, नारायण सुयल र जुना गुरुङ पुरस्कृत भएका थिए । पुरस्कृत प्रतिभालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीले पुरस्कार वितरण गर्नुभएको थियो । समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठको सभापतित्वमा भएको यस कार्यक्रममा पुरस्कृत प्रतिभा छनोट समितिमा साहित्यकारहरू हिरण्यकुमारी पाठक, तेजप्रकाश श्रेष्ठ, किशोर पहाडी, रेशमलाल श्रेष्ठ र कार्तिकेय रहनुभएको थियो ।
हरेक वर्ष बन्दिपुरमा बसोबास गरी साहित्य सिर्जनामा सक्रिय प्रतिभावान् बालबालिकाहरूबीच प्रतियोगिता गरी प्रदान गरिँदै आएको यो पुरस्कार विगत ३ वर्षदेखि प्रदान गरिँदै आएको छ । यस वर्ष यो पुरस्कार वितरण कार्यक्रमको संयोजन कवि भीष्म श्रेष्ठले गरेका थिए । उक्त अवसरमा काठमाडौंबाट लेखकहरूलाई बन्दिपुर भ्रमणमा लैजाने दायित्व पुरस्कार कोषका संस्थापक जलेश्वरी श्रेष्ठले पूरा गर्नु भएको थियो ।
आमाको सम्झनामा विद्यालय
वरिष्ठ समालोचक एवं संस्कृतिविद् डा. रामदयाल राकेशले आफ्नी ममतामयी आमा पार्वती साहको सम्झना (स्मृति) मा प्राथमिक विद्यालयको स्थापना गर्नु भएको छ । पार्वती प्राथमिक विद्यालय नाम रहेको यो विद्यालय डा. राकेशको जन्मथलो सर्लाही जिल्लाको सिसौटियामा रहेको छ । यो विद्यालयमा अहिले ६० जना विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयका प्रधानाध्यापक चन्द्रिका श्रेष्ठ हुनुहुन्छ । अग्रज लेखक डा. राकेशको यो सह्रानीय सामाजिक काम प्रति हामी दङ्ग छौं, उहाँलाई हार्दिक धन्यवाद भन्दछौं ।
जुनियर बास्केटबल बाबा बोर्डिङले जित्यो
अन्तर विद्यालय स्तरीय जुनियर बास्केट बल प्रतियोगिता बाबा बोर्डिङ स्कुल चावहिलले जितेको छ ।
दोस्रो स्काइलार्क स्कुल, धापासी एवं तेस्रो र चौथोमा क्रमशः कान्तिपुर इङ्लिस स्कुल, महाराजगञ्ज र काब्या स्कुल, बानेश्वर भएका छन् ।
युरो स्कुल हाँडिगाउँले आयोजना गरेको सो प्रतियोगिता गत २०६९ असार १ देखि ८ गतेसम्म भएको थियो । सो प्रतियोगितामा आठवटा विद्यालयहरू सहभागी भएको युरो स्कुलका सहायक प्रिन्सिपल आर. डी. शेर्पाले बताए । सहभागी विद्यालयहरूमा चाँदबाग स्कुल, कान्तिपुर इङलिस हाइ स्कुल, काब्या स्कुल, साइपाल एकेडमी, स्वाती सदन स्कुल, स्काइलार्क स्कुल, युरो स्कुल र बाबा बोर्डिङ स्कुल रहेका थिए ।
विजेता टिमलाई प्रमुख अतिथिहरू चौधरी ग्रुपका महाप्रबन्धक रमेश श्रेष्ठ तथा आइ. इ. सी. की प्रबन्ध निर्देशक शैलजा अधिकारीले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
एसएलसी पास विद्यार्थीलाई अभिनन्दन
वि.सं. २०६८ को एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने आफ्ना सदस्य स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई प्रोग्रेसिभ एजुकेसन फोरमले अभिनन्दन गरेको छ ।
फोरममा ९ वटा स्थानीय  विद्यालयहरु संगठित भएका छन् । जसमा अनमोल ज्योति उच्च मावि, मालिगाउँ, न्यु सनसाइन सेकेन्डरी स्कुल हाडिगाउँ, दुर्गा भवानी एकेडमी, धुम्बाराही, मिसन पब्लिक स्कुल, बौद्ध, महान सिद्धार्थ हाई स्कुल, कुमारीगाल, न्यु इङलिस सेकेन्डरी स्कुल, मैजुबहाल, न्युमोनिक मोर्डन एकेडमी, जोरपाटी, ज्ञानदिप शिक्षा सदन गौरीनगर र सनलाइट इङलिस सेकेन्डरी स्कुल गौरीनगर सदस्य रहेका छन् ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थी तथा विशिष्ट श्रेणीमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई विशेष सम्मान तथा अभिनन्दन गरियो । साथै एसएलसीमा पास हुने सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सदस्य स्कुल मध्ये बाट प्रत्येक विषयमा उच्च नतिजा ल्याउने विद्यालयका विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
विद्यालय र शिक्षाका क्षेत्रमा भएका साझा मुद्दा र सवालहरुमा सामूहिक समाधान खोज्ने प्रयास स्वरुप यी स्कुलहरु संगठित भएको कुरा फोरमका उपाध्यक्ष बाबुराम के.सीले बताए ।
सदस्य स्कुल मध्येबाट एसएलसीमा सबैभन्दा बढी अंक ल्याउने स्कुलले कार्यक्रम आयोजना गर्ने परम्परा अनुरुप न्यु इङलिस स्कुलले सो कार्यक्रम आयोजना गरेको जानकारी कार्यक्रम संयोजक नितेश राईले बताए । सो स्कुलका छात्र सुशान्त गौतमले ८८.७५ प्रतिशत अंक सहित नौ वटा विद्यालय मध्येमा सबैभन्दा बढी अंक ल्याउन सफल भएका थिए ।
कार्यक्रमा पास हुने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उच्च शिक्षाका लागि सही विषय छान्न उत्प्रेरित गरिएको थियो । फोरमका अध्यक्ष विष्णु प्रसाद पोखरेलले रुचि र क्षमता अनुसारको विषय छानेर उच्च शिक्षा अगाडि बढाउन विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।