Tuesday, January 24, 2012

‘बढी भन्दा बढी पाठ्यपुस्तक र ज्ञानगुनका किताबहरू ब्रेल लिपिमा तयार हुनुपर्छ भन्ने हाम्रो माग हो’– दुई दृष्टिविहिन बालिकाहरू


Sarita Adhikari and Sarita Aryal
सरिता अधिकारी कक्षा ८ मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् । दुबै आँखा नदेख्ने १२ बर्षीय सरिताले गीत गाएको उनका संगीत विषयका गुरु रमेश सुवेदीलाई पनि एकदमै मनपर्छ ।
यिनै प्रतिभाशाली छात्रा सरितासँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
कहिलेदेखि गीत गाउन थाल्नुभयो ?
म सानैदेखि गाउने गर्थें । कहिलेकाही गीत, कविता पनि लेख्ने गर्छु ।
जिन्दगी के हो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षमय यात्रा हो जिन्दगी ।
आँखा देख्नुहुन्न, बाहिरको संसार कस्तो होला जस्तो लाग्छ ?
संसार रमाइलो छ जस्तो लाग्छ ।
के कुराले गर्दा रमाइलो होला जस्तो लाग्छ ?
साथीभाइ, प्रकृति, विकास आदि कारणले गर्दा रमाइलो भएको होला भन्ने     लाग्दछ ।
कसरी ल्याब्रोटरी स्कुलमा पढ्न आइपुग्नु भयो ?
पहिला म पोखराको अमर सिंह उच्च माविमा पढ्थें । पछि दृष्टिबिहिनका लागि यो स्कुल राम्रो छ भन्ने थाहा पाएर पढाइको सिलसिलामा यहाँ आइपुगेकी हुँ ।
कस्तो शब्द भएको गीत गाउन मन लाग्छ ?
म जस्तै बालबालिकाको मनको कुरा भन्ने शक्ति भएको गीतगाउन मन लाग्छ ।
गीतको अभ्यास कसरी गर्नुहुन्छ ?
पहिला सुरुमा गीतको शब्दलाई गुरुले भन्दिनुहुन्छ । म ब्रेल लीपिमा लेख्छु । त्यसपछि गुरुको आज्ञा अनुसार गाउने अभ्यास गर्छु ।
एउटा गीत राम्ररी गाउने हुन कति दिन सिक्नुपर्छ ?
बढीमा दुई हप्ता र घटीमा एक हप्ता लाग्ने गर्छ । यस पल्ट पुरस्कार पाएको गीत तयार गर्न मलाई ७ दिन लागेको थियो । प्रतियोगिता चाँडै हुने भएकाले समय छोटो भएका कारण मैले हरेक दिन अलि बढी समय दिएर यो गीतको अभ्यास गरेकी थिएँ ।
तपाईलाई के गर्दा मज्जा लाग्छ ?
मलाई गीत गाउन र फुर्सदको बेला रेडियो सुन्न मज्जा लाग्छ । रेडियोमा म बालकार्यक्रमहरु र गीतहरु सुन्छु ।
तपाईको घरमा कोको हुनुहुन्छ ?
आमा, बुवा, दिदी र भाइ हुनुहुन्छ । म कान्छी छोरी हुँ । बुवाको कपडा पसल     छ ।
भविष्यमा के बन्ने विचार छ ?
भविष्यमा गायक बन्ने उद्देश्य छ । त्यसका लागि म मिहिनेत गरिरहेकी छु ।
मनपर्ने गायक र गायिका कोको हुन् ?
मलाई गायक स्वरुपराज आचार्य, गायिका रेजिना रिमाल र अन्जु पन्त मनपर्छ ।
ब्रेल लीपिमा पढेर किताबका कुराहरु सिक्न र परीक्षामा राम्रो गर्न कत्तिको गाह्रो वा सजिलो  के छ ?
सुरुसुरुमा गाह्रो हुँदोरहेछ । तर सिकेपछि बिस्तारै सजिलो हुँदै जानेरहेछ । आँखा देख्ने साथीहरुसँगै बसेर पढ्ने भएकाले कतिपय कुरा त सुनेर पनि बुझ्न र थाहा पाउन सकिन्छ नि !
दृष्टिबिहीन बालबालिकाको पढाइलाई अझ राम्र्रो गर्न के कुरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
पाठ्यपुस्तक, साहित्यका किताब, सामान्यज्ञानका किताब र मनोरञ्जनका किताबहरु बढी बे्रल लीपिमा भइदिए धेरै राम्रो हुने थियो । साथै त्यसरी नै बढी भन्दा बढी राम्रा ज्ञानगुनका किताबहरु सुन्ने किताबका रुपमा उत्पादन भइदिए पनि धेरै राम्रो हुने थियो ।
ठूलो मान्छे हुनुपर्छ कि असल मान्छे हुनुपर्छ जस्तो लाग्छ ?
असल मान्छे बन्नुपर्छ जस्तो लाग्छ । किनकि विचार र भावना असल भएको मान्छे नै सबैभन्दा ठूलो हुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईंको होस्टेलको बसाई कस्तो छ अहिले ? यसमा केही कुरा नपुगेको छ कि ?
सजिलो छ । होस्टेलमा बस्छु । गीत सुन्ने साधनको चाहिँ अभाव छ । त्यो पाए अझ बढी आफ्नो क्षमता बढाउन सक्थें भन्ने मलाई लाग्छ । राम्रो गायक बन्न पहिला अरुले गाएका बढी भन्दा बढी गीत सुन्नुपर्छ भन्ने मलाई लाग्छ ।
जीवनमा आँखा नदेख्ने भएकोमा पछुतो लागेको त छैन नि ?
जीवनमा एकदमै उत्साहका साथ अगाडि बढिरहेकी छु । मलाई आफू दृष्टिविहीन भएकोमा केही पछुतो छैन । मान्छे जो जहाँ जस्तो अवस्थामा छ, त्यही अवस्थामा नै संघर्ष गरी प्रगति गर्न सक्ने  मान्छे नै असल र ट्यालेन्ट मान्छे हो जस्तो मलाई लाग्छ । दुःखमा आत्तिने मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन । म पनि कहिलेकाही अलिअलि दुःखी हुने गर्छु तर फेरि आत्मविश्वासका साथ अघि बढ्ने गर्छु ।
सरिता अर्याल कक्षा ६ मा पढ्छिन् । उनी पनि आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । सरिता अधिकारीसँगै एउटै स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय बालगीत प्रतियोगितामा सान्त्वना पुरस्कार जितेकी थिइन् ।
यिनै प्रतिभाशाली छात्रा सरिता अर्यालसँग यस अंकमा हामीले कुराकानी गरेका छौं । जुन यहाँ प्रस्तुत गरिएको छ ।
किन गीत गाउनु हुन्छ ?
यो मेरो सानैदेखिको रुचि हो ।
कस्ता गीत गाउन मन लाग्छ ?
बालगीत र लोकगीत गाउछु ।
गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबैको मनछुने खालको हुनुपर्छ । त्यसका लागि जीवनमा मेल खाने हुनुपर्छ ।
के कुरा गर्दा रमाइलो लाग्छ ?
गीत संगीत सुन्दा रमाइलो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ ?
मेरा लागि त संघर्षको माध्यम हो जीवन । बाँच्नका लागि आफै संघर्ष       गर्नुपर्छ ।
होस्टेलको बसाइ कस्तो भइरहेको छ ?
रमाइलो नै भइरहेको छ ।
भविष्यमा के बन्ने उद्देश्य छ ?
एउटा राम्रो गायिका बन्ने धोको छ । त्यसकै लागि मिहिनेत गरिरहेकी छु ।

Monday, January 23, 2012

प्रतिभाको कुरा सुनौं, लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ?



मेरो मनपर्ने ठाउँ स्तानबुलको समुद्रको किनार र नेपालमा पोखरा हो । मलाई मनपर्ने लेखक विलियम ब्लेव र लक्ष्मीप्रसाद देवकोटा हुन् । भविष्यमा मलाई अन्तरिक्ष यात्री बन्ने इच्छा छ । मेरो लक्ष्य पनि त्यही हो । डाक्टर बन्न मलाई मन छैन ।
मलाई कथाको किताब पढ्न एकदमै मनपर्छ । बार्बीको डायरी मेरो मनपर्ने कथाको किताब हो । मलाई बत्ती गएको मनपर्दैन । मेरो मिल्ने साथी माया लामा र सलिना कार्की हुन् । मलाई घिउँ हालेको जाउलो खान मज्जा लाग्छ । स्निकर चकलेट, चकलेट स्वादको आइसक्रिम र पिज्जा पनि मलाई मनपर्छ । खरबुजा, लौका र मेवा मलाई मनपर्दैन ।मिस वल्र्डमा भाग लिन जाँदाको बेला समुद्रमा पौडी खेल्दा निकै रमाइलो भएको थियो । म एकदमै खुसी भएको क्षण पनि हो त्यो । मलाई चित्र बनाउँन र कि बोर्ड बजाउँन मन लाग्छ । 
मिस वल्र्डमा जाँदा मैले बनाएका मेरा दुई बेस्ट फ्रेन्डहरु एलिक्यू प्रिन्स लू (दक्षिण अफ्रिका) र मड्रिना (काजकिस्तान) हुन् ।                                           

जेनीको गायन जादु


हालै सम्पन्न एक स्टेज कार्यक्रममा चीनको इछाङ शहरकी नौं बर्षीया बालिकाले हजारौं दर्शकहरूको माझ उभिएर गीत गाइन् । उनको गायनलाई अत्यन्त मन पराइयो । मिठो स्वरकी धनी ती बालिकाको नाम छिङ सी इङ हो । करिब तीन मिनेटसम्म गाइएको त्यो गीत कार्यक्रम मध्यको उत्कृष्ट प्रस्तुति ठानिएको थियो । प्रस्तुत छ तिनै प्रतिभाशाली बालगायिका छिङ सी इङसँग हामीहरूले गरेको छोटो कुराकानी  

तिमीलाई साथीहरूले के भनेर चिन्दछन् ?
जेनी मेरो अंग्रेजी नाम जेनी हो । साथीहरूले पनि जेनी नै भन्दछन् ।
तिमी कुन विद्यालयमा पढ्छौ ?
जेनी  चाइना थ्री गर्जेज मिडल स्कुलमा पढ्छु । मेरो स्कुल यही सहरको गजौबा भन्ने ठाउँमा छ ।
यति मिठो गीत गाउन तिमीले कसले सिकायो ?
जेनी यो गीत गाउन म आफैले सिकेको हो ।
तिमीलाई यति धेरै दर्शकहरूको सामु उभिएर गीत गाउँदा कस्तो अनुभव    भयो ?
जेनी  अलि  अलि डर लाग्यो ।
तिम्रो साथीहरूले पनि गीत गाउँछन् ?
जेनी  गाउँछन् । कोही कोही साथीहरूले चिनीयाँ गीत गाउँछन् र कोही कोहीले अंग्रेजी गीत पनि गाउँछन् ।
अहिले सम्म तिमीले कुनै कार्यक्रममा पुरस्कार पाएका छौ ?
जेनी  मैले सान्सिया नामक चिनियाँ लोकल पत्रिकाले आयोजना गरेको कार्यक्रमा गीत गाउँदा पुरस्कार पाएको थिएँ । तर मैले अझै मिठो गीत गाउनफुर्सदको समयमा के गर्छौ ?
जेनी  म  फुर्सदको समयमा गीत गाउने अभ्यास गर्छु । टेलिभिजनमा आउने महिलाहरूको कार्यक्रम हेर्छु । तर मलाई विभिन्न किताबहरू खुब पढ्न मन लाग्छ ।
अनि खेलकुद ?
जेनी  म  प्राय साथीहरूसँग खेल्ने गर्छु । घर नजिकै खेल्छु । मलाई बास्केट बल खेल्न सा¥है मनपर्छ ।
तिमीलाई इन्टरनेटको बारेमा केही ज्ञान छ ?
जेनी  अलि  अलि छ । म इन्टरनेटमा साथीहरूसँग कुराकानी गर्छु । कहिले कहिले कम्प्युटरमा गेम पनि खेल्ने गर्छु ।
तिमीले गीत गाउँदा बाबा र ममी कतिको खुशी हुनुहुन्छ ?
जेनी  मलाई बाबा र ममीले नै गीत गाउन प्रोत्साहन दिनुभएको हो ।
तिमीलाई नेपालको बारेमा केही थाहा छ ?
जेनी  नेपाल हाम्रो छिमेकी मुलुक हो । नेपालीहरू एकदमै मिलनसार हुन्छन् ।
भविष्यमा के बन्न चाहन्छौ ?
जेनी  मैले खासै सोचेको छैन । तर म एकदम खुशी भएर अरू मानिसहरू पनि म जस्तै खुशी भएको देख्न चाहन्छु ।
(जेनीकी बुबा हाल China three gorges university, medical collge को डीन हुनुहुन्छ ।)
तस्वीर अभिनाश कुमार साह भाषा  विशेष श्रेष्ठ प्रस्तुति  सरोज शाही

Friday, January 20, 2012

केटाकेटी न्युज मासिक पत्रिकाको नयाँ अंक बजारमा आइपुगेको छ । यस अंकको आकर्षण यस प्रकार रहेको छ

ketaketi news, year 7, issue 5
१. कार्तिकेय बालप्रतिभा पुरस्कार कोषको वारेमा विशेष सामग्री, कोषले दश वर्षमा के कति बालप्रतिभालाई पुरस्कृत ग¥यो ? कोको पुरस्कृत भए भन्ने लगायत कोषको वारेमा विभिन्न व्यक्तित्वका विचारहरु ।
२. लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ? उनको विचार र रमाइला फोटोहरु ।
३. वर्ष २०६८ मा कुन कुन बालप्रतिभाहरु पुरस्कृत भए ? ती बालप्रतिभाको परिचय यस अंकमा रहेको छ ।
४. आँखा नदेखेर केभो त, हामी गीत गाएर नै संसार जित्न सक्छौ । दृष्टिविहिन बालिकाहरु सुमधुर स्वरकी धनी सरिता अधिकारी र सरिता अर्यालसँगको मनछुने कुराकानी ।
५. प्रा. डा. अच्युतमणि आचार्यको जाडोमा बालबालिकाको स्वास्थ्य विषयमा लेखका साथै प्रमोद प्रधान, महेश पौड्याल, मोहन कार्की, पारस श्रेष्ठ, भगवती पौडेल, ऋषिराम पाण्डे, श्लेष्मा क्षेत्री, अञ्जना राजवंशी र सुमिक्षा खड्काको विचारहरु ।
६. शुभतारा स्कुलमा कक्षा चारमा पढ्ने प्रतिभाशाली बालिका आँचल भण्डारीको प्रतिभावारे आवरण चर्चा र चीनकी बालप्रतिभा जेनीसँगको कुराकानी, चीनबाट सरोज शाहीको कोसेली ।
७.  र, केटाकेटी क्विजका साथै अन्य रमाइला जानकारी एंवं केटाकेटी मिडियाबाट प्रकाशित कृतिहरुवारेको जानकारी यस अंकमा समेटिएका छन् ।

Sunday, December 11, 2011

निर्दोष आसु

बहस
(अरुण होस्टलमा बस्ने विद्यार्थीमाध्ये सबैभन्दा कान्छो थियो । त्यसैले सबै उसलाई निकै माया गर्थे । सबै उसलाई काखमा राख्न मन गर्थे । ऊ हँसमुख थियो, सधैँ हाँसिरहन्थ्यो । यस्तो लाग्थ्यो, उसको जिन्दगीमा उदासीका लागि कुनै स्थानै छैन । बेलाबेलामा ऊ खेल मैदानको एकछेउमा बनाइएको डबलीमाथि उभिएर माथि आकाशमा उन्मुक्त उडिरहेका गौंथलीहरूलाई हेरिरहेको देखिन्थ्यो । यो कुनै गम्भीर काव्यिक चिन्तनजस्तो देखिन्थ्यो, यद्यपि सबैलाई थाहा थियो, यो एउटा बालशुलभ निर्दोषिता थियो ।
ऊ पढाइमा साह्रै जेहेन्दार थियो । यसले पनि उसको लोकप्रियता बढाएकै थियो ।  उसँग खासै गुनासहरू थिएनन्, र उसका मागहरू पनि त्यति थिएनन् । ऊ सधैँ प्रफुल्ल्ति देखिन्थ्यो, र आफैँसँग खेलमग्न देखिन्थ्यो ।
एक दिन अबेर राती उसलाई केही लेखिरहेको देखियो । रात निकै घर्किसकेको थियो, र उसको उमेरका बालबालिका सुतिसक्नु पर्ने समय भएको थियो । तर ऊ आफ्नो काममा तल्लिन थियो । हामी शिक्षकहरू गोप्य रुपमा चियो गर्ने निधो ग¥यौँ । हामीले उसलाई समायौँ र उसले लेख्दैगरेको चिठी पनि फेला पा¥यौं । जब बुद्ध सर चिठी पढ्न थाल्नुभो, ऊ छेवैमा बसेर हाम्रा मुखमा हेरिरह्यो । उसका ओठमा हल्का मुस्कान छँदैथियो । चिठी अगाडि बढ्दै गयो, ऊ आफ्नो टाउको तलमाथि हल्लाइरह्यो । उसका ससाना गोल आँखा कहिले बुद्ध सरको, त कहिले मेरो अनुहारमा घुमिरहे । बेलाबेलामा झ्यालबाट बाहिर पनि हे¥थ्यो । हुनसक्छ उसलाई प्यारा लाग्ने ती गौंथलीलाई हेर्न चाहन्थ्यो ऊ । जब चिठी पढेर सिध्याइयो, उसको ओठको हाँसो पनि हराइसकेको थियो । निर्दोष आँसुका ढिक्काले उसको खुसीको ठाउँ ओगटिसकेका थिए । चिठी यस्तो थियोः— )
प्यारी आमा,
म यहाँ आरामै छु । यो होस्टल निकै ठूलो छ । यी कोठाहरू पनि कत्राकत्रा ।
मैले यहाँ धेरै साथी पनि बनाएको छु । गुरुहरू पनि माया गेर्नखाल्का हुनुहुन्छ । यति मात्र हो, तपाई यहाँ हुनुहुन्न ।
थाह छ, अस्तीको हप्ता हाम्रा गुरुहरूले हामीलाई पिकनिकको लागि गोदावरी लानुभयो । कति मीठामीठा खानेकुराहरू बनाइएका थिए । हामी सबैले बडो मज्जाकासाथ खायौँ । कुरो यतिमात्र हो, तपाई हुनुहुन्नथ्यो त्यहाँ ।
पिकनिको अलि दुख लाग्दो कुरो योमात्रै हो कि मलाई त्यहाँ क्रिकेट खेल्दा खुट्टामा चोट लागेको थियो । ओहो, त्यो क्रिकेटको मैदान त कत्रो ठूलो थियो । त्यो हाम्रो बारीपल्तिरको ग्राउण्ड छ नि, त्योभन्दा पनि ठूलो । तर मैदानैभरि साऽना साना ढुङ्गा छरिएका । म एउटा ढुङ्गोमा ठोक्किएँ र मलाई चोट लाग्यो । रगत पनि बग्यो औंलाबाट । मलाई सरहरूले छेउको औषधी पसलमा लानुभो । त्यहाँ नर्सले मलाई माया गरेर औषधि लगाइदिनुभो । मलाई राम्रो भयो । तर त्यहाँ तपाई हुनुहुन्नथ्यो ।
हरेर दिन स्कुलपछि आया दिदीहरूले हामीलाई नुहाइदिनुहुन्छ । हाम्रो स्कुलमा पानी तताउने मसिन छ । तपाईले त्यस्तो मसिन देख्नुभाको छ ? आहा, कत्ति मज्जाले पानी तताउँछ । हामी मनतातो पानीमा नुहाउँछौं र सफासुग्गर हुन्छौं । दिदीहरूले हामीलाई माया गरेर सहयोग गर्नुहुन्छ । लुगा पनि
धोइदिनुहुन्छ, र नुहाइधुवाइ सकेपछि सुकिला लुगा लाइदिनुहुन्छ । सबैकुरा घरमा जस्तै छन् । तर, आमा तपाई हुनुहुन्न यहाँ ।
आमा, तपाईलाई यहाँ बडो मज्जा लाग्नेछ । हरेक रात, हामी सुत्नुभन्दा अगाडि गुरुहरूले कति मज्जाका कथा सुनाउनुहुन्छ हामीलाई । ती कथामा बाँदर पनि हुन्छन्, ठूला र साना दुबै खाल्का । ठूला बाँदरहरू बडी हाँसोलाग्ने खाल्का हुन्छन् । गुरुहरूले कथा भनेको बेला हामी गोलाकार बनाएर ओरिपरि बस्छौँ । तर आमा, ती कथा तपाईले सुत्ने बेलामा भनेका काथा जस्ताचाहिँ हुँदैनन् । आमा, तपाई हुनुहुन्न यहाँ । हामी त केटाकेटी हौँ, र यहाँ सबैले भन्छन केटाकेटी बदमास् हुन्छन रे ।
हामी पनि बदमास छौं । कहिलेकाहिँ हाम्रा हातबाट चियाका गिलास खस्छन् र चिया भैंमा पोखिन्छ । कहिलेकाहिँ हामी भ¥याङ्बाट माथितिर दगुर्छौं बाँदरको जस्तो र ठोक्किन्छौँ, जताततै । गुरुहरू आएर हामीलाई गाली गर्नुहुन्छ । जब हामी रुन्छौं, हाम्रा हात समाउनुहुन्छ, र मायाले आँसु पुछिदिनुहुन्छ । तर ती हात तपाईकाजस्ता छैनन् । आमा, तपाई यहाँ हुनुहुन्न
। म सुध्रिएको छु नि । म अंग्रेजी र नेपाली दुवैलाई फरर पढ्न सक्छु, लेख्न पनि जान्दछु । म निकै राम्रा चित्र पनि बनाउँछु । म तपाईको चित्र पनि बनाउन सक्छु । तर त्यो चित्र ठ्याक्कै तपाईजस्तो चाहिँ हुँदैन ।
आमा, यो होस्टलमा सबैखाल्का खुसीहरू छन् । यो साह्रै राम्रो ठाउँ छ । तपाईलाई मन पर्नेछ । तपाई यहीं, मसँगै बस्न आउनुहोस् न आमा, हाम्रै होस्टलमा । कि बरु, म पनि घरै आउने नि ! मैले बिस्वास लिएको छु, तपाईले मेरो चिठीको जवाफ छिट्टै लेख्नुहुनेछ । अनि आशा छ, तपाई मसँग यहीँ बस्नेगरी आउनुहुनेछ । आमा, तपाई नभएको ठाउँमा मलाई पटक्कै बस्न मन छैन आमा ।
तपाईको प्यारो छोरो
अरुण
By Mahesh Paudyal Prarambha

साहित्यको मज्जामा बाँच्न पाएकोमा दङ्ग छु

रामकाजी कोने राम्रा मुक्तकहरु लेख्छन् । यिनको मुक्तकमेला नामको मुक्तकसङ्ग्रह भर्खरै प्रकाशित भएको छ । यिनी पेशाले वरिष्ठ पर्यटन व्यवसायी हुन् । समाजसेवाको क्षेत्रमा पनि यिनले विशेष योगदान पु¥याइरहेका छन् । यिनै वरिष्ठ साहित्यकार कोनेसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी बाल्यकालको अनुभव सुनाउँदै भन्छन्ः
         म वि.सं.२०११ साल वैशाख पूर्णिमा बुद्घजयन्तीका दिन कास्की जिल्लाको दाङ्सीं मोहारिया गाउँमा जन्मेको हुँ । मेरो पहिलो विद्यालय भैरहवाको भैरहवा हाइस्कुल हो । मैले रुपन्देही मनिग्रामको शान्ति विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको हुँ । भैरहवा क्याम्पसमा मैले प्रविणता प्रमाण पत्र तह पढें । म कोने गुरुङ्को छोरोले त्यहीबाट भाषासाहित्य पढ्न शुरु गरेको हुँ । जुन एउटा रमाइलो क्षण थियो । यो बेला म गुरु टंक न्यौपानेलाई विशेष सम्झिरहेको छु । उहाँले पढाउँनुभएको साहित्य लेखनको प्रेरणाले नै म साहित्यकार बन्न पुगें । त्यो बेला बालकृष्ण भट्टराई गुरु र क्याम्पसका साथीहरुले मलाइ ठूलो गुन लगाएका थिए ।
   वि.सं.२०३२ सालको कुरा हो । त्यो बेला भैरहवामा स्नात्तकको पढाइ हुन्थेन । त्यसैले अध्ययनको लागि म काठमाडौं आएँ । मैले त्रिचन्द्र क्याम्पसमा स्नात्तक पढ्न शुरु गरें । त्यहाँ मैले गुरु कृष्ण गौतमबाट साहित्य लेख्नुपर्छ भन्ने अझ बढी प्रेरणा पाएँ ।
  जीवन सोचे जस्तो हुँदैन, देखे जस्तो हुँदैन मात्र भोगे जस्तो हुन्छ भनेझैं मेरो जीवनमा पनि त्यस्तै भयो । साहित्यलाई मनमै लुकाएर राख्नुप¥यो । म घरको जेठो छोरो । आमाको आज्ञा अनुसार अघि बढ्न थालें । त्यसैले मैले परिवारलाई भौतिक सुख दिन अक्षरको खेती गर्ने लेख्ने काम छोडेर अंकको खेती गर्ने व्यापारको काम रोज्नु प¥यो । यसरी धेरै अघिदेखि लेख्न थालेपनि बीचमा धेरै वर्ष म व्यापारमै ब्यस्त भएँ । त्यसैले धेरै ढिलो भर्खरै वि.सं. २०६६ मा मेरो पहिलो मुक्तक सङ्ग्रह प्रकाशित हुन पुग्यो । केही साथीहरुले किताब ढिला निकाल्यौ भने । धेरै साथीहरुले तिमी सौखीन लेखकमात्र हौ भनेको त राम्रो लेख्दारहेछौ भनेर हौसला पनि दिएका छन् । यतिबेला मलाई मेरा साहित्यिक मित्रहरु र सहयोगी साहित्यिक पत्रिकाहरुको गुन सम्झन मन लागेको छ । युवराज नयाँघरे, विजय वजिमय, वियागी बूढाथोकी, डा.हरि शर्मा, युवराज गौतम, मधुपर्क, गरिमा, मिर्मिरेलगायत सबै शुभचिन्तकप्रति म कृतज्ञ रहेको छु ।
    वास्तवमा म पहाडमा जन्मे पनि मैले धेरै समय तराईमा बिताएँ । भैरहवामा हाम्रो जग्गा जमीन थियो । त्यो बेला हाम्रो छिमेकी गाउँमा डाका आएर लुटेको सम्झँदा अहिले पनि मलाई नमज्जा लाग्छ । गोरुले तान्ने गाडा नै लिएर एक हुल डाकाहरु आएका थिए । उनीहरुले पूरै गाउँका घरबाट सामानहरु लुटेर लगेका थिए । तराईमा बस्नेहरुको यो दुःख सम्झँदा मेरो मन कटक्क खान्छ । त्यस्तै चैत महिनाको हावाहुरीमा कच्ची खरले छायका घरहरुमा आगो लागेर दुःख पाएका त्यतिबेलाका मानिसहरु सम्झँदा म अहिले पनि भावुक हुन्छु । साँच्चै नै तराईको जीवन निकै कष्टपूर्ण हुन्छ ।
       मेरो जीवनमा म मेरा दुईजना हजूरबुवाहरुबाट निकै प्रभावित भएको छु । मेरो मामा घरको हजूरबुवाको नाम नरबहादुर हो । उहाँ एकदमै धार्मिक हुनुहुन्थ्यो । सँधै विहान कार्यालयमा काम गर्न जाँदा बाटोमा पर्ने सबै कमिलाका गोलाहरुमा एकएक मुठ्ठी चिनी हालिदिएर जानुहुन्थ्यो । बाटोमा हिड्दै जाँदा खुला चौर र खेतका गराहरुमा पिसाब फेर्दा पनि धर्ती आमालाई दुख्छ भनेर पात राखी पातमाथि पिसाब फेर्ने गर्नुहुन्थ्यो । उहाँ प्राणीहरुलाई एकदमै माया गर्नुहुन्थ्यो । आफ्नो पैतालाले कमिला पनि कुल्चिएर नमरोस् भनी विचार पु¥याएर हिड्नुहुन्थ्यो । त्यस्तै म पाँच वर्षको छँदा बित्नुभएका मेरो बुवाघरका हजूरबुवाको वारेमा आमाले मसँग धेरै कुरा गर्नु् भएको छ । उहाँ बित्नुभएको दिन उहाँलाई सैनिक पोशाक लगाइदिएर पाल्कीमा हालेर लगेको अहिले पनि म झलझली सम्झन्छु । त्यो सानो बेला अरुले सोध्दा मैले हजूरबुवा बजार जानुभएको हो भनेर मैले जवाफ दिएको थिएँ । त्यो बेलासम्म मलाई मान्छेहरु मर्छन् भन्ने कुरा नै थाहा थिएन ।
   मेरा बुवाघरका हजूरबुवा क्याप्टेन खड्ग सिंह समाजसेवी हुनुहुन्थ्यो । उहाँले त्यो बेला गाँउमा स्वास्थ्य चौकी र पुस्तकालयहरु स्थापना गर्ने काम गर्नुभयो । उहाँ गाउँलेहरुको नेता पनि हुनुहुन्थ्यो । सिपाहीको जागिर पछि उहाँले धेरै समय राजनीति पनि गर्नुभयो । उहाँ गाउँ आउँदा गाउँलेहरु खुसीले रमाएर नाच्दथे ।
  मेरा दुबै हजूरबुवाहरु मेरो जीवनका आदर्श नायकहरु हुनुहुन्छ । मैले मेरी आमा सकलादेवीलाई भाविको रुपमा पाएँ । आमाको प्रेरणा र सही मार्गदर्शनले नै आज म सफल मान्छे बन्न सकेको हुँ । आमालाई आदर र स्नेह गर्ने छोराछोरी नै खुसी रहन सक्छन् जस्तो मलाई लाग्छ । आमाको न्यानो मया र प्रेरणा अनि हजूरबुवाहरुको सम्झनाले गर्दा अहिले म उहाँहरुलाई नै आदर्श बनाएर व्यापारको घोडामा बसेर साहित्यको लगाम समातेर अघि बढिरहेको छु । जसले गर्दा मेरो व्यापार इमान्दारितामा टिकेको छ । अनि साहित्यको रसमा पौडदै, लेख्दै र पढ्दै जीवन बाँच्न पाएकोमा म दङ्ग छु, फुरुङ्ग छु र आफूलाई निकै भाग्मानी पनि ठान्दछु ।

स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

ऐ चावेल ! चावेल !! चावेल !!!
यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।
उसले यसो किन गर्यो होला त ?
यसको उत्तर पनि सहज नै छ । किनकि यही नै उसको व्यापार हो । एउटा यात्रु बराबर थोरैमा पनि उसको बाह्र रुपियाँको व्यापार हुन्छ । त्यसरी नै उसले यात्रु कोचाकोच हालेर पैसा कमाइरहेको छ ।
ठीक यसरी नै निजी विद्यालयहरूले पनि एउटा विद्यार्थी वरावर न्यूनतम् तीनसय रुपियाँ देख्छन् र टेम्पोवालाले कोचेझै विद्यार्थी बसमा कोच्ने गर्छन् । उपत्यकाका यी विद्यालयमा एउटा विद्यार्थीले बस सुविधा लिएवापत न्यूनतम् तीनसयदेखि एक हजारसम्म शुल्क विद्यालयलाई बुझाउँने गरेका छन् । काठमाडौंका नाम चलेका ठूला विद्यालयले स्कुल बस चढेवापत विद्यार्थीले दिने शुल्कको व्यापार नै मासिक चालिस लाखसम्म हुने कुरा अध्ययनले देखाएको छ ।
यस्तो अवस्थामा एउटै क्षेत्रमा विद्यार्थी बढे पनि एउटै बसले काम चलाउँने प्रवृति पैसा जोगाउँने मनसायले अहिले स्कुल बसले विद्यार्थी कोचिरहेका छन् ।
वास्तवमा र्सार्वजनिक सवारीमा जस्तो स्कुल बसमा यात्रु अनिश्चित हुने भएर यस्तो भएको भने होइन । विद्यालय भर्ना हुँदै हरेक फरक क्षेत्रबाट आउँने बच्चा निश्चित हुन्छन् । उनीहरूले वाषिर्क रुपमा बुझाउँने शुल्क पनि निश्चित हुन्छ तर यस्तो अवस्थामा पनि विद्यार्थी उभ्यायर र कोचेर यात्रा गराउँनु भनेको फितलो ट्राफिक कानुन नियमको फाइदा उठाएको हो र अभिभावकको सहनशील स्वभावको पनि दुरुपयोग गरिएको हो । त्यसैले आजैबाट हरेक विद्यार्थी र अभिभावकले यस विषयमा बोल्न सुरु गरौं । स्कुल बसमा उभिएर यात्रा गर्नुपर्ने दिनको अन्त्य गर्न कम्मर कसेर लागौं ।

स्कुल बसमा कोचिने विद्यार्थीहरू के भन्छन् ?
न्ारायणहिटी सङ्ग्राहालय अवलोकन गरी र्फकनेक्रममा एउटै बसमा क्षमताभन्दा दोब्बर विद्यार्थी कोचेर लैजाँदै गरेको स्कुल बसलाई ट्राफिकले समातेर कार्वाही गरेपछि बल्ल यो कुरा राष्ट्रिय चासोको विषय बन्यो । त्यसपछि ट्राफिक प्रहरीले स्कुल बसमाथि कडा निगरानी गरी काठमाडौंका नाम चलेका केही निजी विद्यालयहरूलाई कार्वाही पनि गर्यो । देशको बुटवललगायतका क्षेत्रमा त अभिभावकहरू आफै समूह बनाएर छड्के गर्दै सडकमा पनि निस्किए ।
व्ाास्तवमा यी सबै कुराले सकारात्मक परिवर्तनका लागि दवाव त सिर्जना गरेको छ ।
यहीं समस्याको भुक्तभोगी भएका स्कुल बस प्रयोग गर्ने विद्यार्थी माझमा पुगेर हामीले यस विषयमा व्यक्तिगत धारणा बुझ्ने प्रयत्न गरेका छौं ।
यसक्रममा हामीले काठमाडौंका ब्यस्त चोकहरूमा पुगी विद्यालय जाने र र्फकने समयमा विद्याथीहरूलाई भेटी कुराकानी गरेका थियौं । व्यक्तिगत धारणा लिनेक्रममा आएका केही तीता र केही रमाइला धारणारू पनि आएका छन् । त्यसलाई यो अंकमा प्रस्तुत गरेका छौं ।
स्कुल जानै दिक्क लाग्छ
मेरो नाम निस्था महर्जन -परिवर्तित नाम) हो । म अहिले कक्षा ८ मा पढ्छु । म मेरो स्कुल बसको यात्राबाट दुःखी छु । म स्कुल बस चढ्दा सँधै दिक्क मान्ने गर्छर्ुु कहिलेकाही स्कुल जानु नै नपरोस् जस्तो पनि लाग्छ । तर स्कुल पुगेपछि म साथीहरूसँग रमाउँछु र फ्रेस हुन्छु ।
म सँधै गौशालाबाट स्कुल बस चढ्ने गर्छर्ुु मेरै स्कुलमा क्यान्टिनमा काम गर्ने एक जना दाइ छन् । उनी पनि मित्रपार्कबाट बस चढ्ने गर्छन् । बसमा हामी सँधै थुप्रै साथीले उभिनु पर्छ । ती दाइ ङच्िच दाँत देखाउँदै सँधै मेरै छेउमा आएर उभिने गर्छन् । उनी घरीघरी बस हल्लेको बहानामा मेरो जिउमा छुने गर्छन् । कहिलेकाही मलाई नमज्जा लाग्ने गरी ढाडमा हात राखेर मालिस गर्दिनु पर्यो भन्दै उभिन्छन् । मलाई उनको यो बानी देखी दिक्क लाग्छ ।
साह्रै वाक्क भएर म कहिलेकाही उसले नदेखोस् भनेर लास्ट सिटतिर गएर उभिने गर्छर्ुु त्यहाँ पनि ऊ ङच्िच दाँत देखाउँदै आइपुग्छ । यो समस्याले गर्दा म दुःखी छु । मेरो बसमा बस्ने सिट पाउने भए यस्तो हुँदैन थियो होला जस्तो मलाई लाग्छ । त्यसैले यो कुरा कसलाई भन्नु पर्ने हो मलाई थाहा छैन तर यही पत्रिकाबाट भन्छु - स्कुल बसमा हिड्ने सर मिसले आफ्ना बच्चाको अवस्थाको पनि ख्याल गरिदिनु पर्छ । यो भए मजस्ता थुप्रै साथी खुसी हुने थियौं । यस्तो समस्या मेरा केटी साथीहरू धेरैको छ भन्न नसकेका मात्र हुन् ।

सिट पाउन दर्ुइ स्टेशन पछाडिसम्म हिँडेर गई चढ्थेँ
म राधा पुडासैनी -परिवर्तित नाम) हुँ । म काठमाडौंको नाम चलेको स्कुलमा पढ्छु । तर म सँधै स्कुल बस आउने समय भन्दा एक घन्टा पहिले घरबाट हिंडेको विषयमा ममी र मेरो दर्ुइ वर्षम्म धेरै डिस्कस भयो । मैले कक्षा ७ देखिको डिस्कसको समाधान एक वर्षछि आएर गरें ।
हो, त्यो बेला म कक्षा सातमा पढ्थें । स्कुल टाढा थियो । सँधै बसमा सिट नपाउने । कहिले जाम, कहिले टायर बलेको बाटो परेर बस घुमाएर लानु पर्ने । म सँधै पौने घन्टादेखि डेढ घन्टासम्म बसमा उभिनमा पर्थें ।
यस्तै दुःख पाउँदा पाउँदै एकदिन मेरी साथीले मलाई हेर, मेरो घरको स्टेशनबाट चढ्ने गर त्यहाँ बसमा आठ दशवटा सिट खाली हुन्छ भनेर सुझाव दिई । उसको कुरा सुनेपछि मैले बेलुका घर गएर धेरै सोचें । त्यसपछि भोलिपल्टदेखि म घरबाट एकघन्टा चाँडो हिड्न थालें । अनि म दर्ुइ स्टेशन पछाडि आधा घन्टा हिडेर गई बस चढ्न थालें । यो कुरा मामुलाई नभन्दा सँधै यति चाँडो कहाँ जान्छेस् भनेर डिस्कस् पर्ने गर्दथ्यो । भनौं त मामु खरो स्वभावको हुनुहुन्थ्यो । मलाई धेरै माया पनि गर्नु हुन्थ्यो । उहाँले स्कुल नै चेन्ज गरिदिनु भएर साथीहरूसँग छुट्टनिु पर्ला भन्ने मलाई ठूलो पिर थियो ।
तर जब मैले यो कुरा मामुलाई भनें । उहाँले रुँदै मलाई अँगालो हाल्नु भयो र गालामा म्वाइ खानु भयो । केही भन्नु भएन ।
खैर जेहोस्, म अहिले एसएलसी दिने तयारीमा जुटेकी छु । होस्टेलमै बस्छु । तर मलाई के लाग्छ भने हरेक स्कुल बसमा सिटभन्दा एउटा पनि बढी विद्यार्थी हाल्यो कि कार्वाही गर्ने नियम बनाउँनु पर्छ । अनि मात्र मजस्ता विद्यार्थीहरू खुसी हुने थियौं ।
Source: year 7, issue 2, 2068.
                        Presented by: Kartikeya Ghimire