Sunday, December 11, 2011

निर्दोष आसु

बहस
(अरुण होस्टलमा बस्ने विद्यार्थीमाध्ये सबैभन्दा कान्छो थियो । त्यसैले सबै उसलाई निकै माया गर्थे । सबै उसलाई काखमा राख्न मन गर्थे । ऊ हँसमुख थियो, सधैँ हाँसिरहन्थ्यो । यस्तो लाग्थ्यो, उसको जिन्दगीमा उदासीका लागि कुनै स्थानै छैन । बेलाबेलामा ऊ खेल मैदानको एकछेउमा बनाइएको डबलीमाथि उभिएर माथि आकाशमा उन्मुक्त उडिरहेका गौंथलीहरूलाई हेरिरहेको देखिन्थ्यो । यो कुनै गम्भीर काव्यिक चिन्तनजस्तो देखिन्थ्यो, यद्यपि सबैलाई थाहा थियो, यो एउटा बालशुलभ निर्दोषिता थियो ।
ऊ पढाइमा साह्रै जेहेन्दार थियो । यसले पनि उसको लोकप्रियता बढाएकै थियो ।  उसँग खासै गुनासहरू थिएनन्, र उसका मागहरू पनि त्यति थिएनन् । ऊ सधैँ प्रफुल्ल्ति देखिन्थ्यो, र आफैँसँग खेलमग्न देखिन्थ्यो ।
एक दिन अबेर राती उसलाई केही लेखिरहेको देखियो । रात निकै घर्किसकेको थियो, र उसको उमेरका बालबालिका सुतिसक्नु पर्ने समय भएको थियो । तर ऊ आफ्नो काममा तल्लिन थियो । हामी शिक्षकहरू गोप्य रुपमा चियो गर्ने निधो ग¥यौँ । हामीले उसलाई समायौँ र उसले लेख्दैगरेको चिठी पनि फेला पा¥यौं । जब बुद्ध सर चिठी पढ्न थाल्नुभो, ऊ छेवैमा बसेर हाम्रा मुखमा हेरिरह्यो । उसका ओठमा हल्का मुस्कान छँदैथियो । चिठी अगाडि बढ्दै गयो, ऊ आफ्नो टाउको तलमाथि हल्लाइरह्यो । उसका ससाना गोल आँखा कहिले बुद्ध सरको, त कहिले मेरो अनुहारमा घुमिरहे । बेलाबेलामा झ्यालबाट बाहिर पनि हे¥थ्यो । हुनसक्छ उसलाई प्यारा लाग्ने ती गौंथलीलाई हेर्न चाहन्थ्यो ऊ । जब चिठी पढेर सिध्याइयो, उसको ओठको हाँसो पनि हराइसकेको थियो । निर्दोष आँसुका ढिक्काले उसको खुसीको ठाउँ ओगटिसकेका थिए । चिठी यस्तो थियोः— )
प्यारी आमा,
म यहाँ आरामै छु । यो होस्टल निकै ठूलो छ । यी कोठाहरू पनि कत्राकत्रा ।
मैले यहाँ धेरै साथी पनि बनाएको छु । गुरुहरू पनि माया गेर्नखाल्का हुनुहुन्छ । यति मात्र हो, तपाई यहाँ हुनुहुन्न ।
थाह छ, अस्तीको हप्ता हाम्रा गुरुहरूले हामीलाई पिकनिकको लागि गोदावरी लानुभयो । कति मीठामीठा खानेकुराहरू बनाइएका थिए । हामी सबैले बडो मज्जाकासाथ खायौँ । कुरो यतिमात्र हो, तपाई हुनुहुन्नथ्यो त्यहाँ ।
पिकनिको अलि दुख लाग्दो कुरो योमात्रै हो कि मलाई त्यहाँ क्रिकेट खेल्दा खुट्टामा चोट लागेको थियो । ओहो, त्यो क्रिकेटको मैदान त कत्रो ठूलो थियो । त्यो हाम्रो बारीपल्तिरको ग्राउण्ड छ नि, त्योभन्दा पनि ठूलो । तर मैदानैभरि साऽना साना ढुङ्गा छरिएका । म एउटा ढुङ्गोमा ठोक्किएँ र मलाई चोट लाग्यो । रगत पनि बग्यो औंलाबाट । मलाई सरहरूले छेउको औषधी पसलमा लानुभो । त्यहाँ नर्सले मलाई माया गरेर औषधि लगाइदिनुभो । मलाई राम्रो भयो । तर त्यहाँ तपाई हुनुहुन्नथ्यो ।
हरेर दिन स्कुलपछि आया दिदीहरूले हामीलाई नुहाइदिनुहुन्छ । हाम्रो स्कुलमा पानी तताउने मसिन छ । तपाईले त्यस्तो मसिन देख्नुभाको छ ? आहा, कत्ति मज्जाले पानी तताउँछ । हामी मनतातो पानीमा नुहाउँछौं र सफासुग्गर हुन्छौं । दिदीहरूले हामीलाई माया गरेर सहयोग गर्नुहुन्छ । लुगा पनि
धोइदिनुहुन्छ, र नुहाइधुवाइ सकेपछि सुकिला लुगा लाइदिनुहुन्छ । सबैकुरा घरमा जस्तै छन् । तर, आमा तपाई हुनुहुन्न यहाँ ।
आमा, तपाईलाई यहाँ बडो मज्जा लाग्नेछ । हरेक रात, हामी सुत्नुभन्दा अगाडि गुरुहरूले कति मज्जाका कथा सुनाउनुहुन्छ हामीलाई । ती कथामा बाँदर पनि हुन्छन्, ठूला र साना दुबै खाल्का । ठूला बाँदरहरू बडी हाँसोलाग्ने खाल्का हुन्छन् । गुरुहरूले कथा भनेको बेला हामी गोलाकार बनाएर ओरिपरि बस्छौँ । तर आमा, ती कथा तपाईले सुत्ने बेलामा भनेका काथा जस्ताचाहिँ हुँदैनन् । आमा, तपाई हुनुहुन्न यहाँ । हामी त केटाकेटी हौँ, र यहाँ सबैले भन्छन केटाकेटी बदमास् हुन्छन रे ।
हामी पनि बदमास छौं । कहिलेकाहिँ हाम्रा हातबाट चियाका गिलास खस्छन् र चिया भैंमा पोखिन्छ । कहिलेकाहिँ हामी भ¥याङ्बाट माथितिर दगुर्छौं बाँदरको जस्तो र ठोक्किन्छौँ, जताततै । गुरुहरू आएर हामीलाई गाली गर्नुहुन्छ । जब हामी रुन्छौं, हाम्रा हात समाउनुहुन्छ, र मायाले आँसु पुछिदिनुहुन्छ । तर ती हात तपाईकाजस्ता छैनन् । आमा, तपाई यहाँ हुनुहुन्न
। म सुध्रिएको छु नि । म अंग्रेजी र नेपाली दुवैलाई फरर पढ्न सक्छु, लेख्न पनि जान्दछु । म निकै राम्रा चित्र पनि बनाउँछु । म तपाईको चित्र पनि बनाउन सक्छु । तर त्यो चित्र ठ्याक्कै तपाईजस्तो चाहिँ हुँदैन ।
आमा, यो होस्टलमा सबैखाल्का खुसीहरू छन् । यो साह्रै राम्रो ठाउँ छ । तपाईलाई मन पर्नेछ । तपाई यहीं, मसँगै बस्न आउनुहोस् न आमा, हाम्रै होस्टलमा । कि बरु, म पनि घरै आउने नि ! मैले बिस्वास लिएको छु, तपाईले मेरो चिठीको जवाफ छिट्टै लेख्नुहुनेछ । अनि आशा छ, तपाई मसँग यहीँ बस्नेगरी आउनुहुनेछ । आमा, तपाई नभएको ठाउँमा मलाई पटक्कै बस्न मन छैन आमा ।
तपाईको प्यारो छोरो
अरुण
By Mahesh Paudyal Prarambha

No comments:

Post a Comment