Thursday, March 22, 2012

विश्वकै कान्छा फोटोग्राफर रिरेन्द्र श्रेष्ठ के भन्छन्

(बालप्रतिभाको आँगनमा)
Rirendra with Prime Minister Dr. Baburam Bhattrai
रिरेन्द्र श्रेष्ठ नेपाली बालप्रतिभा हुन् । उनी विश्वकै कान्छा फोटोग्राफर हुन् । सेन्ट जेभियर स्कुलमा कक्षा १ मा पढ्ने रिरेन्द्र अहिले ६ वर्षका भए ।
उनले आफू पन्द्र महिनाको उमेरको हुँदा देखि फोटो खिच्न थालेका हुन् । चार वर्षको उमेरमा सन् २०११ जुलाइ महिनामा उनको नाम विश्वकै कान्छा फोटोग्राफरको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको हो ।
यस अङ्कमा हामीले यिनै कान्छा फोटोग्राफर प्रतिभाशाली बालक रिरेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौं । 
फोटो खिच्न कसले सिकाइ दियो ?
बुवा, आमा र दिदी तीनै जनाले फोटो खिच्नु हुन्छ । उहाँहरूले नै मलाई फोटो खिच्न सिकाउनु भएको हो ।
तपाईंले खिच्नु भएको पहिलो फोटो कुन हो ?
मैले खिचेको पहिलो फोटो मेरी आमाको फोटो हो । त्यसपछि मैले गिरिजाप्रसाद कोइराला, माधव नेपालको फोटो खिचें । अनि अहिले विश्वमै नाम लेखाउन सफल भएपछि राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अरु थुप्रै मन्त्रीहरू लगायत धेरै मान्छेहरू र विभिन्न प्रसिद्घ ठाउँहरूको फोटो खिचेको छु ।
के गर्दा रमाइलो र मज्जा लाग्छ ?
नयाँ–नयाँ फोटो खिच्न पाउँदा मलाई रमाइलो लाग्छ र मज्जा पनि आउछ । अनि मलाई फुटबल, बास्केटबल र क्रिकेट खेल्दा पनि मज्जा लाग्छ ।
अब कस्तो फोटो खिच्न मन लागेको छ ?
अब अलि फरक किसिमको फोटो खिच्न मन छ । जस्तै, नम्बर प्लेट नराखी चलाएको सवारी साधनको, कहिं कतै दुर्घटना भयो भने त्यसको पनि सुरुमै फोटो खिच्न मन लाग्छ । मलाई सबैभन्दा बढी कन विश्वको सर्वोच्च शिखर सगरमाथाको फोटो नजिकैबाट खिच्ने मन छ । माउन्टेन फ्लाइटबाट त मैले फोटो खिचिसकेको छु ।
फोटो खिच्न घुम्दा कस्तो अनुभव भयो ?
एकदमै रमाइलो भयो । मैले फोटो खिच्ने प्रतिभा भएकोले प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू र अरु थुप्रै मानिसहरूसँग भेट्ने मौका पाएँ । सबैले माया गर्नु भयो । एकदमै खुसी लागेको छ ।
फोटो खिचेर घरमै राख्ने हो कि, के गर्ने हो ?
मैले आफूले खिचेका फोटोहरू जम्मा पारेर फोटो प्रदर्शनी गर्ने गरेको छु । अहिलेसम्म मैले १२ वटा फोटो प्रदर्शनी गरिसकें । मलाई अझ धेरै फोटो खिचेर अझ धेरै मान्छेहरूलाई देखाउँने इच्छा छ ।
ठूलो भएर के बन्ने इच्छा छ ?
विश्वकै राम्रो टप फोटोग्राफर बन्ने लक्ष्य छ । अनि असल प्रहरी बनेर देसको नाम संसार भरि चिनाउछु । देसको सेवा गर्छु भन्ने इच्छा छ ।
आफूले खिचेको कुन–कुन फोटो मनपर्छ ?
सगरमाथा हिमालको, दक्षिणकालीको, नम्बर प्लेट नराखेको गाडीको र राष्ट्रपतिको फोटो मलाई राम्रो लाग्छ । यी फोटोहरू मैले राम्रो खिचेको छु भन्ने मलाई लागेको छ ।
                           प्रस्तुति ः ऋषिराम पाण्डे

No comments:

Post a Comment