Sunday, December 11, 2011

होस्टेल बस्न मनपर्छ कि पर्दैन ?

होस्टेल अङ्ग्रेजी शब्द हो । यसको नेपाली अर्थ छात्रावास, विद्यार्थी गृह वा विद्यार्थी निवास भन्ने हुन्छ । यो शब्दले अहिले नेपाली शब्द छात्रावासलाई छोपेको छ ।
गुरुकुल शिक्षाको समयमा विद्यार्थीले घर बसेर पढ्दैन । पढ्न घरबाट टाढा नै जानुपर्छ अर्थात् गुरुको शरणमै जानुपर्छ भन्ने चलन थियो । वर्तमान आधुनिक शिक्षामा त्यो मान्यता त छैन तर दिनप्रतिदिन होस्टेलमा बस्ने बालबालिकाको संख्या भने बढ्दै गएको देखिन्छ ।
यसरी होस्टेलको बढ्दै गएको मागलाई मध्यनजर गरी यस पटक हामीले होस्टेलमा बस्दै आएका पचास जना बालबालिका र विद्यालय जान बस चढ्न प्रतिक्षालयमा कुरिरहेका  पचास जना गरी जम्मा सयजना विद्यार्थीसँग होस्टेल बस्न मनपर्छ कि पर्दैन भन्ने विषयमा छलफल गरेका थियौं ।
छलफलका क्रममा घरबाटै विद्यालय गइरहेका पचासमध्ये चालिसजना होस्टेल बस्न मनपर्दैन भन्ने पक्षमा देखिए भने बाँकी दशजनाले कतिपय अवस्थामा बाध्यताले पनि बस्नुपर्छ भन्ने विचार व्यक्त गरे । त्यस्तै होस्टेलमा बसिरहेका पचासजनामध्ये तीसजनाले होस्टेलमा बस्न मनपर्छ ठीकै हो भन्ने बताए भने बाँकी बीसजनाले मनपर्दैन भने । यीमध्ये होस्टेलको बसाइ मनपर्दैन भन्ने बीस जनामा हामीले दश वर्षभन्दामुनिका बालबालिकाहरू बढी पायौं । यसबाट हामीले एउटा विचार के बनाउँन सक्यौं भने सकभर होस्टेल राख्दा साना बालबालिकालाई राख्नुपर्दा सोच्नुपर्ने हो कि ! तर यसमा पनि फरक विचार र बहस हुन सक्छन् । त्यस्तै होस्टेल बस्न मनपर्छ भन्नेमा हामीले धेरैजसो महत्वाकांक्षी विद्यार्थीहरू पायौं । पढाइमा टप हुन, राम्रो पढेर सबैको वाहवाही पाउँन होस्टेल बस्नुपर्छ भन्ने उनीहरूको तर्क थियो । तीमध्ये केही विद्यार्थी घरमा आमाबुवाले कम पढ्नुभएकोले राम्रो सहयोग पाउँन होस्टेलको बसाइ सही हो भन्ने पक्षमा पनि देखिए । यस्तो संख्या भने काठमाडौं बाहिरबाट आई होस्टेल बस्नेमा बढी देखियो ।
वास्तवमा होस्टेलको बसाइ एउटा बच्चाको समग्र व्यक्तित्व विकासका लागि कति हदसम्म ठीक वा बेठीक हुन्छ भन्ने कुरामा अरु धेरै कुराहरूले पनि महत्व राख्छन् । ती विषयमा पनि हामीले विचार गर्नु जरुरी देखिन्छ ।
होस्टेल अर्थात् छात्रावास । छात्रावास शब्दको अर्थ प्रयोगात्मक नेपाली शब्दकोशमा प्रा. डा. हेमाङ्ग राज अधिकारी यसरी लेख्छन्अध्ययनका क्रममा सम्बन्धित शिक्षण संस्थाले व्यवस्था गरेको भवन ।
सोही अर्थमा हेर्दा एउटा घर जहाँ विद्यार्थी पढ्ने उद्देश्यका लागि बस्छन् भन्ने देखिन्छ । तर घर भन्नासाथ हामीले त्यो कत्तिको विद्यार्थी मैत्री छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । जसमा उनीहरूका लागि खाने सुत्ने व्यवस्था, खेल्ने चौर र मनोरञ्जन र सूचना प्राप्त गर्ने साधनको प्रयोगलगायत सम्पूर्ण कुराहरू पर्दछन् ।
हामीले यस आलेख तयार पार्नेक्रममा पुगेका अधिकांश होस्टेलहरू ठूला घरमा थिए । कुनै त भब्य महलमा नै थिए । तर बालमैत्रीका हिसावले हेर्ने हो भने दशमध्ये दुई होस्टेलवाहेक आठवटामा त सानो आँगन पनि थिएनन् । तीनवटामा त बच्चाले छतमै बोर्ड राखेर टिटि खेलेको पनि देखियो । दशमध्ये दशमै वाथरुम र ट्वाइलेटको अवस्था दयनीय थियो । भान्सा घरको हालत पनि गजबको थियो । ठूलो जुठो भाडाको थुप्रो थुप्रिएको ठाउँ र बच्चाहरूले हात धुने ठाउँ एउटै थियो ।
यही क्रममा हाम्रो मनमा अर्को जिज्ञासा पनि उठ्यो । काठमाडौंमा सञ्चालित अनाथ आश्रम बालगृहहरूमा त केन्द्रीय बालकल्याण समितिले त्यहाँ आश्रित बालबालिकालाई कस्तो सुविधा दिइएको छ, सन्तुलित भोजन दिइएको छ कि छैन र बसाइ बालमैत्री छ कि छैन भन्नेजस्ता कुराहरू अनुगमन गर्ने गर्दछ । तर यी निजी विद्यालयले सञ्चालन गरेको होस्टेल अनुगमन गर्ने निकाय छ कि छैन होला ? त्यहाँ रहेका बच्चाले खाने खनाको गुणस्तर, उनीहरूका लागि बनाइएको खानेकुराको मेनु र त्यहाँको रहनसहन एवं वातावरणवारे नियमित अनुगमन गर्ने दायित्व कसको हो ? के यो दायित्व एउटा अभिभावकको मात्र हो कि ? अभिभावक संघको हो कि ? वा शिक्षण संस्था सञ्चालनमा स्वीकृति दिने निकायको हो ?
हालसम्म यसको लागि कुनै व्यवस्था भएको हाम्रो जानकारीमा आउन सकेन । यस विषयमा सोच्नुपर्ने देखिएको छ । किनकि स्वास्थ्यको संवेदनशील पक्षबाट हेर्दा वरिष्ठ बालरोग विशेषज्ञ डा. अच्युतमणि आचार्यकै शब्दमा भन्ने हो भने खाने कुराको एउटै खालको सूचीले गर्दा बच्चाले वाक्क भई नखाइदिने अवस्थाले गर्दा भोलिको दिनमा हजारौं ग्यास्टिकका रोगी उत्पादन केन्द्र होस्टेलहरू बन्दैछन् । त्यसैले खाजा वा खानाको मेनुमा हरेक दिन परिवर्तनको महसुस भई बच्चाले खान प्रेरित हुने उपाय अपनाउँन तर्फ होस्टेल सञ्चालहरू सचेत हुनुपर्ने देखिन्छ । यगकत लागि नाम मात्रका अभिभावक संघहरूले पनि सोच्नु जरुरी देखिन्छ ।
वास्तवमा हाम्रो सानो अध्ययनमा हामीले के पायौं भने अहिले काठमाडौंका निजी विद्यालयलाई न्यूनतम् पाँच हजारदेखि पच्चीस हजारसम्म मासिक शुल्क तिरी विद्यार्थीहरू बसिरहेका छन् । अधिकांश विद्यार्थीहरू खानेकुराको मेनुप्रति असन्तुष्ट छन् । सँधै आलु, चना र अण्डा सँधै त्यही भनी वाक्क दिक्क भएर रोगी भएका बच्चाहरूलाई पनि हामीले भेट्यौं । अर्कोतर्फ खाए खा नखाए घिच् भनेझै हाम्रो होस्टेलको नियम यही हो भन्नेखालको हिटलरी प्रवृतिबाट पनि बालबालिका पीडित भइरहेका छन् । यसै क्रममा हामीले एउटी नौ वर्षकी बालिकालाई भेटायौं । ती बालिकाको रुचि भनौं वा शरीरको आवश्यकता नै यस्तो थियो कि उनलाई अण्डा खानासाथ बान्ता आउँथ्यो । अण्डा नखाऊँ, खानाको रुटिनमा त्यही पाक्ने, कसले अण्डा खाएन भनेर सोधपुछ पनि हुने । खाऊँ सँधै बान्ता आउँने । बल्लतल्ल उनले यो समस्या भान्साको दिदीलाई त भनिन् तर विचरी ती दिदीकोे पनि  के तागत शाकाहारी खाना खान चाहने बच्चालाई फलफूल दिऊँ भन्ने कुरा कार्यान्वयन हुन नसकेपछि ती बालिका पढाइको लोभमा गएकी त्यो राम्रो विद्यालय छोड्न नै बाध्य भइन् । त्यस्तै यस्ता संवेदनशील कुरामा बलमैत्री व्यवहार गरी होस्टेलमा सुधार गरिनु आवश्यक छ । हरेक होस्टेलमा बच्चाले आफ्नो कुरा निर्धक्क राख्न सक्ने, बच्चाको कुरा सुन्ने डेस्कको स्थापना गरिनु पर्दछ । त्यो डेस्कले तुरुन्तै प्रशासनमा तुरुन्तै कुरा पु¥याउँने र त्यसलाई तत्काल कार्यान्वयन गर्ने परिपाटी बसाइनु पर्ने देखिन्छ ।
निचोडमा के भन्न सकिन्छ भने सबै दृष्टिकोणबाट होस्टेल बसाइ नराम्रो भने होइन । होस्टेर राम्रो र नराम्रो हुने भन्ने कुरा विद्यालयको व्वस्थापनमा भरपर्छ ।
होस्टेल राम्रो हुन त्यहाँ भित्र सहकार्यको भावना हुनुपर्छ । विद्यार्थीले निर्धक्क आफ्ना कुरा राख्न सक्ने वातावरण हुनुपर्छ । जसरी माटोमा बीउ रोपेपछि त्यसलाई उम्रिन सही तापक्रम र वातावरणको आवश्यकता पर्दछ । त्यसरी नै सही शिक्षादीक्षा दिन होस्टेलको वातावरण कस्तो हुनुपर्छ भनी मनोविद, पोषणविद, शिक्षाविद र स्वास्थ्य विशेषज्ञको सल्लाहमा व्यवस्थापन चल्नुपर्ने देखिन्छ । बालमनोविज्ञान बुझेको र सोही विषयमा कम्तीमा स्नातक गरेको व्यक्तिको संलग्नता होस्टेलमा हुनु अनिवार्य देखिन्छ ।

डा. सुमनराज ताम्राकार
धुलिखेल अस्पताल, काभ्रे

मेरो दुईजना छोराहरू छन् । तिनलाई कहिले पनि होस्टेल राख्दिन भन्ने मैले प्रतिज्ञा गरेको छु । म आफैले पनि होस्टेल बसाइको अनुभव गरेको छु । घरमा मिठो नमिठो जे पाके पनि घरमै आनन्द हुन्छ । होस्टेलमा त बढी सुविधा हुन्छ तर घरमा चाहि आनन्द बढी हुन्छ ।
होस्टेलमा दबाबले, थर्काइले बच्चाको पढाइ राम्रो जस्तो देखिन्छ तर त्यसमा दिगोपन हुँदैन । हामीले आफ्नो बच्चा फस्ट हुने हिसावले होइव राम्रो व्यक्तित्व भएको हुने हिसावले सोच्नु पर्छ । घरमा आमाले खानासँगै माया पनि मिसाएर दिन्छिन् । घरमै पनि बच्चालाई राम्रो पढ्ने बनाउँन सकिन्छ । तर त्यसका लागि अभिभावकले उत्प्रेरित गर्ने समय दिन सक्नुपर्छ ।
स्वास्थ्यको हिसावले हेर्दा अरुले बनाएको खानेकुराको मेनुमा चल्नु पर्ने र मन नलागी नलागी खानुपर्ने बाध्यताले रोग बढाइरहेको छ । त्यस्तै सुत्ने कुरा पनि बालबालिकालाई चाहिने अनुकुलका छैनन् । सजिलो र सस्तोका लागि होस्टेलमा सामान जोडिएका हुन्छन् ।
मैले बच्चा दाँजेर हेर्दा के पाएको छु भने होस्टेल बस्ने बच्चा सामाजिक जीवनबाट पनि टाढा हुन्छन् । एकान्तमा बस्ने र चाँडपर्व मननपराउँने हुन जान्छन् । तर्क गर्ने, सामाजिक र घरायसी दायित्व बुझ्ने एउटा सवल मान्छे हुन सक्दैनन् । बच्चालाई काम सिकाउँदै जाने र उसलाई स्वावलम्बी बनाउँने लक्ष्य लिनुपर्छ । त्यो लक्ष्य घरमा मात्र पूरा हुनसक्छ ।
अर्को महत्वपूर्ण स्वास्थ्यका हिसावले सरुवा रोगहरू बढी सर्ने सम्भावना होस्टेलमा बढी हुन्छ । घरमा थोरै संख्यामा भइने हुँदा हेरचाह राम्रो हुन्छ । साथै दीर्घकालिन रोगहरू पनि समयमै पत्ता नलाग्नाले हानी हुनसक्छ । 
मोहन कार्की
संस्थापक, ब्राइट फ्युचर हाइस्कुल, नैकाप, काठमाडौं ।
यो एकदमै सोचविचार गरी गर्नुपर्ने संवेदनशील कुरा हो । कुनै पनि अभिभावकले बच्चालाई होस्टेल राख्नु अघि सम्बन्धित विद्यालयको वातावरण राम्ररी बुझ्नुपर्दछ । हतारमा होस्टेल राख्नु हुँदैन । सकभर कुनै पनि आफूले चिनेका विद्यार्थी अगाडि देखि बसेर पढिरहेको होस्टेलमा छोराछोरी राख्नु राम्रो हो । यसो गर्दा त्यहाँ बसाइको अवस्था वारे सुरुमै छलफल गर्न सकिन्छ ।
बालबालिका कलिला कोपिला हुन् । उनीहरूलाई सङ्गतले ठूलो असर गर्दछ । त्यसैले होस्टेलमा आफ्नो छोराछोरीले राम्रो असल साथीको सङ्गत पाउँन सकेको छ कि छैन भन्ने कुरामा अभिभावकले विशेष चासो लिनुपर्छ । विद्याथी पनि यो कुरामा सचेत हुनुपर्छ ।
नेत्र बहादुर लिम्बू
प्रिन्सिपल, जिलेट आवासिय उच्च मावि, कालिमाटी, काठमाडौं ।
वर्तमान समयमा आफ्नो ब्यस्त जीवनको बाध्यताले गर्दा बालबालिकालाई होस्टेल राख्नु अभिभावकको बाध्यता बन्दै गएको छ । तर होस्टेल बसाइ नराम्रो भन्ने हुँदैन । त्यसलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण कुरा हो ।
होस्टेलमा बसेर पढेका विद्याथीहरूले नै अहिले पढाइमा टप गरिरहेको अवस्था पनि छ । तर यसको मतलब होस्टेल राखी बुवाआमा बच्चाको सम्पर्कबाटै पूरै टाढा हुने कुरा चाहि हुनुहुँदैन । समय समयमा घुलमिल भई दुःखसुख साटासाट गरी मायालु वातावरण दिएर अघि बढ्दा होस्टेलको वातावरण सहज हुने देखिन्छ ।
रीत्त लेन भोउतिलाइनेन्, फिनल्याण्ड
मेरो देशमा बच्चालाई विद्यालय स्तरको दश कक्षासम्म पढुन्जेल बोर्डस् गर्न अथवा आवासीय विद्यालयमा राख्न पाइदैन । उनीहरूले आफ्नै आमाबुवासँग घरमै बसेर पढ्नुपर्छ । तर नेपालका शहरी क्षेत्रमा थुप्रै बालबालिकाहरू आमाबुवाबाट टाढा आवासीय विद्यालयमा पढिरहेका छन् । यसरी विद्यालयमा पढ्ने उमेरमा बच्चालाई आमाबुवाको मायाबाट अलग गर्नु उनीहरूको विकासमा बाधा पु¥याउनु हो भन्ने मलाई लाग्छ । अर्को कुरा यहाँका अभिभावक र शिक्षकहरु बच्चाले सानो हुँदै विद्यालय गएर क ख लेखोस् ए बी सि डी भन्न थालोस् भन्ने सोचाइ राख्छन् । यो कुरा पनि ठीक होइन । किनकि एउटा बच्चाले राम्ररी कलम समात्न र अक्षरहरु लेख्न सिक्नुभन्दा पहिला उसले खेलमा रमाउँदै रंगहरु लतपत गरेर दल्न र संगीतमा रमाउँदैदौडदै विद्यालयको वातावरणमा घुलमिल हुनु जरुरी छ । अनि मात्र उसले लेख्न र पढ्न राम्ररी सक्दछ ।
प्रा. डा. अच्युतमणि आचार्य
वरिष्ठ बालरोग विशेषज्ञ, समाजसेवी
यो संवेदनशील विषय हो । राख्नु हुँदैन भन्दा समय मिलाउँन नसक्ने अभिभावकले के गर्ने त भन्ने प्रश्न उठ्छ । राख्नुहुन्छ भन्दा पनि बच्चाको स्वाभाविक विकासको प्रक्रिया र स्वतस्फूर्त व्यक्तित्व निर्माणको प्रक्रिया भत्किन्छ बिग्रिन्छ ।
बच्चा चिचिढे स्वभावको घुलमिल हुन रुचि नराख्ने बन्दछ । परिवार र समाजसँग पनि राम्ररी घुलमिल हुन नसक्ने बन्न पनि सक्छन् । जसले उनीहरूलाई कुलतमा लैजान पनि सक्दछ ।
जहाँसम्म घरमै राखेर आफै पढाउँन सकिन्न, जानिदैन भन्ने अभिभावकलाई म के भन्न चाहन्छु भने राम्रो निर्देशन र प्रेरणा दिनुस् । साथै घरमै शिक्षक बोलाई गाह्रो लागेका विषय पढ्ने वातावरण पनि बनाइ दिनुपर्छ । साथै विद्यार्थीले पनि सँधै आफूभन्दा जान्ने साथीको संगत गरी सकभर स्वाध्ययनबाट नै राम्रो गर्ने गरी पढ्नु राम्रो हुन्छ ।
आवरण, Source: Ketaketi News, Year 7, Issue 1

No comments:

Post a Comment