Friday, February 24, 2012

‘बालसाहित्य पढ्नेहरू चलाख र बुद्घिमान् हुन्छन्’

Art by Binita Buddhacharya
राष्ट्रिय सभाग्रहमा केही समयअघि सम्पन्न भएको साझा बृहत् पुस्तक प्रदर्शनीमा आफ्ना छोराछोरीलाई सँगै लिएर आइपुगेका काठमाडौं सिफलका राजेश लामिछानेले भने– छोराछोरी बालकथा भनेपछि पढ्न हुरुक्कै गर्छन् । त्यसैले पुस्तक मेलामा छानी–छानी किताब पाइन्छ भन्ने सुनेर आएको । 
  छेउमै उभिएर बुवाको कुरा सुनिरहेकी कक्षा ५ मा पढ्ने जानुकाले मुसुक्क हाँस्दै भनिन्– मलाई बालकथा पढ्न मज्जा लाग्छ । उनका भाइ निखिलले पनि के कम थिए उनले पनि थपिहाले मलाई त चुट्किलाको किताब मनपर्छ । चित्रहरू धेरै भएको कथा पनि मनपर्छ ।
 यसपल्टको मेलामा काठमाडौंका मात्र होइन काठमाडौं छेउछाउका जिल्लाहरू नुवाकोट, धादिङ, ललितपुर र भक्तपुरलगायतका जिल्लाका अभिभावकहरू आफ्ना छोराछारीलाई मनपर्ने बालसाहित्यको किताब किनेर लगिदिन कस्सिएर आएका भेटिए । उनीहरूले रमाइला–रमाइला बालसाहित्यका किताब पोको पारेर छोराछोरीलाई कोसेली लगिदिएको दृश्य साँच्चै रमाइलो थियो ।
 बुवासँगै किताबको पोको बोकेर दङ्ग पर्दै गरेकी मुनाले भनिन् – मलाई यो मेलामा थुप्रै थरी किताब एकै ठाउँमा पाएकोमा खुसी लाग्यो । ल हेर्नुहोस् मैले किनेका किताब । उनले उत्साहित हुँदै आफ्नो झोला देखाइन् । उनको झोलामा रमाइला कथाका किताब र मेमोरी कसरी बढाउँने, बृहत् समान्यज्ञानलगायतका किताबहरू थिए ।
अनि उनले झन् उत्साहित हुँदै भनिन्– ‘थाहा छ, यी किताब बाबाले मलाई बर्थडेको गिफ्ट दिनुभएको हो नि !’
    वास्तवमा यसपालिको पुस्तक मेला हेर्न थुप्रै अभिभावकहरू आए र बालबालिकाहरू पनि आए । तर काठमाडौं नैकापकी सुभलता नहकर्मीलाई यो प्रदर्शनीमा किताब छान्न धौ–धौ प¥यो । उनले गुनासो गर्दै भनिन्– अलि स्पष्ट जानकारी दिने सिस्टम भएन । कुन किताब कता हो खोज्नै गाह्रो । अलि राम्ररी ठूलो मिलाएर म्याप बोर्ड  प्रदर्शनी ठाउँमा राखेर कुन खालको किताबको कुनो कता हो देखाएर प्रदर्शनी गरे राम्रो हुने थियो । यहाँ त सब घारघुर रहेछ । किताब खोज्नै गाह्रो !
 यसरी विद्यार्थी बालबालिकाहरू आफैले धाएर अनि अभिभावकले चासो देखाएर छोराछोरीलाई पढ्ने मौका दिनु राम्रो कुरा हो भन्छन् बाल चिकित्सक, विशेषज्ञ एवं समाजसेवी प्रा.डा. अच्युतमणि आचार्य । उनी भन्छन्– वास्तवमा बालसाहित्य पढ्ने बालबालिकाहरू चलाख र वुिद्घमान हुन्छन् । त्यस्तै विचार राख्छन् मुना पत्रिकाका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार शिवप्रसाद भट्टराई । उनी भन्छन्– बालसाहित्यले बालबालिकाको सिर्जनशील क्षमताको विकास गर्छ । साथै, उनीहरूलाई काम गर्न प्रेरित र अग्रसर पनि गराउछ ।

No comments:

Post a Comment